चैतको आगमनसँगै सुदूरपश्चिममा भिटौला पर्व सुरु
वि.सं.२०८१ चैत २ शनिवार १६:३२
shares

काठमाडौं, २ चैत । चैत महिना सुरू भएसँगै सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको छ । यो पर्व बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुरका विभिन्न स्थानमा मनाइन्छ । विशेषगरी यो पर्वमा बिहे भइसकेका चेलीबेटीहरुलाई माइती पक्षबाट भेट्ने चलन प्रचलित रहेको छ । सुदूरपश्चिममा होली पर्वको महत्त्वजस्तै यो पर्वको पनि निरन्तरता भइरहेको छ ।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । चैत महिनामा अन्न भण्डारण गरेर राख्ने र खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीहरुलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको कलावती महराले केटीएम भ्वाइस डटकमलाई जानकारी दिइन् ।
महराका अनुसार पहिलेको तुलनामा हेर्ने हो भने अहिले भिटौला पर्वको महत्त्व बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको हो । भिटौलोमा माइतीले विभिन्न परिकार, लुगाकपडा छोरीबहिनीको घरमा पुर्याउने चलन रहेको छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको महराले बताइन् ।
उनका अनुसार पहिले मानिस घरधन्दामा व्यस्त हुने, सञ्चारको सुविधा नहुँदा वर्षभरि सन्चो बिसन्चो समेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन रहिआएको छ ।
भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने तथा दाजुभाइ नभएका परिवारमा नजिकका आफन्त दाजुभाईले भेट्ने चलन रहेको उनले बताइन् ।
चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर रहिरहेको र चैत महिनाभरी जुनसुकै दिन एकरात दिदीबहिनीको घरमा बास बस्ने भेटघाट गर्ने गरेमा दाजुभाइ, दिदीबहिनीको प्रेम सम्बन्धलाई झन प्रगाढ र आत्मीय बनाउने जनविश्वास रहिआएको उनले जानकारी दिइन् ।

















