Dhulikhel Eco Banner new

गभर्नरको ‘रेस’ मा थपिए सुनिल केसी, बैंक बुझेकैलाई बनाउन सीईओहरुको लविङ

3.26K
shares

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बन्न आकांक्षा देखाउनेको लर्को लागेको छ । खासगरी नेपाल बीमा प्राधिकरणको अध्यक्षमा ३५ वर्ष पनि नपुगेको आर्थिक पत्रकार नियुक्त भए पछि राष्ट्र बैंकतिर पनि पासा पल्टाउन सकिन्छ कि भनेर पूर्व पत्रकारदेखि बैंकहरुलेसम्म लविङ गरिहेका छन् ।

गभर्नरको रेसमा दर्जन व्यक्तिहरुको चर्चा चलिरहदा अर्का सुनिल केसीको नाम भने नियुक्तिका लागि बालुवाटारदेखि बुढानिलकण्ठसम्म चर्चा चलिरहेको छ । एनएमबि बैंकको सीईओमा निरन्तरता दिन नचाहेका केसीलाई गभर्नर बनाउन पर्छ भनेर केही बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसमेत लविङमा लागेका छन् ।

अहिले बैंकहरु मध्येबाट चर्चामा रहेका नविल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका सीईओ अशोक शेरचनसँगै केसीको नाम समेत प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासम्म पुर्याइएको छ । सभापति देउवा निकट एक सांसदका अनुसार केसीको नाम लिएर ३ जना बहालवाला सीईओनै बुढानिकलण्ठ धाइरहेका छन् । ‘लामो समय क वर्गको बैंकको सीईओ भएको मान्छेलाई गभर्नर बनाउन राम्रो हुन्छ भन्ने उहाँहरुको सुझाव छ’ ति सांसदले केटिएम भ्वाइससँग भने ।

गभर्नर बन्नका लागि अहिलेका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र स्वभाविक दाबेदार छन् । पहिलो गभर्नर महिला बनाएर इतिहास रचिने भएकाले डा. निलमको नाममा सरकार पोजिटिभ हुनसक्ने सम्भावना छ भने झापाली हेरेर बमबहादुरको भाग्य चम्कने सम्भावना पनि छ । उनीहरु दुबैको सम्भावना वलियो छ । यसबाहेक राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु मध्येबाट भए २ जनाको सम्भावना देखिन्छ । एमालेको भागमा परे डा. प्रकाशकुमार श्रेष्ठ र कांग्रेको भागमा डा. गुणाकर भट्टको सम्भावना देखिन्छ ।

बाहिरबाट आएको खण्डमा सुशील भट्ट पनि वलिया दाबेदार हुन् । यसबाहेक पनि ६ जनाको नाम अत्यधिक चर्चामा छ । प्रधानमन्त्री निकट श्रोतका अनुसार गभर्नर बन्न सकिन्छ कि भनेर १३ जना मान्छेहरु हप्तामा ३ पटक बालुवाटार जादै कालो चिया खादै फर्कने गरेका छन् ।