अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ्दै गएको छ : अर्थमन्त्री
वि.सं.२०८२ जेठ १५ बिहीवार १५:२५
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै देशको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको दाबी गरेका छन्। सिंहदरबारमा मन्त्रिपरिषदबाट स्वीकृत बजेट संसदमा प्रस्तुत गर्दै उनले वर्तमान सरकार आएपछि अर्थतन्त्रले लय समातेको बताए।
‘सरकार गठनपछि अधिकांश आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ,’ पौडेलले भने, ‘अर्थतन्त्रको समग्र अवस्था सकारात्मक छ।’ चालु आर्थिक वर्षमा ४.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको उल्लेख गर्दै उनले अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक हुने अपेक्षा व्यक्त गरे।
उनले बीमा सेवा, ऊर्जा, पर्यटन, बैंकिङ, र पूँजी बजार लगायतका क्षेत्रहरूमा सुधार देखिएको बताए। विद्युत उत्पादनमा उल्लेखनीय वृद्धि भई घरेलु तथा औद्योगिक क्षेत्रमा ऊर्जा आपूर्ति सहज भएको जानकारी दिँदै उनले पर्यटन क्षेत्र पनि सुधारोन्मुख रहेको र विदेशी पर्यटक आगमनमा ९ प्रतिशतले वृद्धि भएको बताए।
चालु खाता सन्तुलनमा सुधार भई २१० अर्ब रुपैयाँ बचतमा गएको र रेमिट्यान्समा पनि उल्लेखनीय वृद्धि भएको उनले उल्लेख गरे। साथै, बैंकिङ क्षेत्रमा कर्जाको प्रवाह र निक्षेप दुवैमा वृद्धि भएको तथा ब्याजदर घट्दो क्रममा रहेको जानकारी दिए।
अर्थमन्त्री पौडेलका अनुसार, निजी क्षेत्रका लगानीकर्तालाई आकर्षित गर्न अहिलेको आर्थिक वातावरण अनुकूल रहेको छ। पूँजी बजार पनि सुधारोन्मुख रहेको भन्दै उनले नेप्से सूचकमा उल्लेखनीय वृद्धि भएको बताए।

















