निफ्राको ऋणपत्रमा आइतवारदेखि आवेदन दिन सकिने
वि.सं.२०८२ जेठ १८ आइतवार १०:३९
shares

काठमाडौं, १८ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत –२०८८/८९’ आइतवारदेखि निष्कासन भएको छ। यो ऋणपत्र वार्षिक ६ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध हुनेछ।
बैंकले कुल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये ३० लाख कित्ता निजी रूपमा बिक्री गरिनेछ भने बाँकी २० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक रूपमा खुला गरिएको छ। सार्वजनिक निष्कासनमा १ लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी १९ लाख कित्ता सर्वसाधारणले खरिद गर्न सक्नेछन्।
सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म खुला रहनेछ।
यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ क्रेडिट रेटिङ्ग दिएको छ, जसले मध्यम स्तरको वित्तीय सुरक्षा जनाउँछ।
ऋणपत्रमा आर्जित ब्याज प्रत्येक आर्थिक वर्षको दुईपटक—अर्धवार्षिक रूपमा कर कटौतीपछि भुक्तानी गरिनेछ।
















