हिमालयन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित
वि.सं.२०८२ असार ११ बुधवार १६:५०
shares

काठमाडौं, ११ असार । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। सभाले कम्पनीको वितरितयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँमा आधारित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोअनुसार कुल ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ ४८ पैसा बराबरको नगद लाभांश (लाभांशमा लाग्ने करसहित) शेयरधनीहरूलाई वितरण गरिनेछ।
सभाले आर्थिक वर्ष २०८०र८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ। साथै, कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको सोही वर्षको वित्तीय विवरण पनि स्वीकृत गरिएको छ।
सभाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बाह्य लेखापरीक्षकको रूपमा एस।सि।लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, कम्पनी ऐनको दफा १०५९१०९ग० बमोजिम २०८०र८१ मा भएको खर्चलाई पनि अनुमोदन गरिएको छ।
सभामा कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा कार्यक्रम सम्पन्न हो। संचालक प्रमिला के।सी।ले स्वागत मन्तव्य राखेकी थिइन् भने संचालक सौरभ दुगडले धन्यवाद ज्ञापन गरे। प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले उपस्थित शेयरधनीहरूको प्रश्नहरूको जवाफ दिएका थिए।
कम्पनीले नियामक निकायबाट आउने निर्देशनअनुसार आवश्यक परेमा प्रस्तावित विषयहरूमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकारसमेत प्रदान गरेको छ।















