उपत्यकाका १० व्यवसायमा अनुगमन, दुईलाई लाखौं जरिवाना,अन्यलाई निर्देशन
वि.सं.२०८२ असार १३ शुक्रवार १३:०५
shares

काठमाडौं, १३ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरमा सञ्चालन भइरहेका १० वटा व्यवसायमा अनुगमन गरेको छ।
बुधबार गरिएको उक्त अनुगमनमा दुई व्यवसायलाई उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको ठहर गर्दै लाखौँ रुपैयाँ जरिवाना गरिएको छ भने अन्य व्यवसायहरूलाई विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार ‘रायन राजिल इन्टरनेशनल’ ले उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) र दफा ३९ को उपदफा १ (ख) उल्लङ्घन गरेकाले २ लाख ४० हजार जरिवाना तिराइएको विभागले जनाएको छ।
यस्तै, ‘जय बालाजी टायर सेन्टर प्रा. लि.’ लाई २ लाख ५ हजार जरिवाना गरिएको छ। त्यसैगरी, ‘निर्जरा ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि.’ लाई वस्तु बिक्री तथा वितरण तत्काल रोक्दै तीन दिनभित्र सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमनका क्रममा ‘प्रोटिन हाउस’, ‘भोलेनाथ स्क्रायाप सेन्टर’, ‘समित स्क्रायाप सेन्टर’, ‘ॐ इम्पेक्स’, ‘एस. एन.जोशी एण्ड सन्स कम्पनी प्रा. लि.’, ‘विष्णुलक्ष्मी इम्पेक्स’ र ‘स्ट्यान्डर्ड ट्रेडिङ्ग’ लाई पनि विभागमा हाजिर हुन निर्देशन दिइएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधानअनुसार आवश्यक निर्देशन तथा कारबाही गरिएको स्पष्ट पारेको छ। साथै, उपभोक्ताको हक र हितको संरक्षण गर्न व्यवसायीहरूलाई ऐन तथा नियमावलीअनुसार नै व्यापार सञ्चालन गर्न आग्रह समेत गरेको छ।
















