असारको तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध
वि.सं.२०८२ असार १४ शनिवार ११:२९
shares

काठमाडौं, १४ असार । पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानी असार १८ गतेसम्म आवश्यक सम्पूर्ण कागजातसहित पेस गरिसक्नुपर्ने स्पष्ट पारेको छ।
कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम, ३०(७) र (८) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडीसम्म मात्र भुक्तानी हुने बताएको छ ।
पूर्वाधार विकास कार्यालय वीरगञ्जका कार्यालय प्रमुख लालबाबु रायले असार महिनामा भुक्तानी कार्यमा अत्यधिक चाप हुने र आइपिएफएम प्रणालीमा पनि सोहीअनुरूप चाप पर्ने भएकाले यस कार्यालयमा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आवश्यक कागजातहरू तोकिएको समयभित्रै पेस गर्नका लागि अनुरोध गरेका छन् ।
“भुक्तानीका लागि आवश्यक पर्ने निवेदन, बिल भर्पाइ, अनुसूची फारमहरू, मूल्याङ्कन बिलसहित यस कार्यालयमा २०८२ साल असार १८ गतेसम्म आवश्यक कागजातसहित निवेदन दिनुहुन अनुरोध छ”, प्रमुख रायले भने, “तोकिएको समयभित्र दर्ता हुन नआएमा कार्यालय जबाफदेही नहुने र सोको भुक्तानी छुट भए सोको जबाफदेहिता सम्बन्धित उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू र सरोकारवालाहरू स्वयं नै रहन सूचना सरोकारवालालाई जानकारी गराइन्छ ।”
















