निजी क्षेत्रको सम्मान बिना समृद्धि सम्भव छैनः अध्यक्ष ढकाल
वि.सं.२०८२ साउन १ बिहीवार ०७:२८
shares

काठमाडौं, १ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको सशक्तीकरण र सम्मानबिना मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् ।सिआइपी सम्मान वितरण समारोह’ मा सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई सम्मान गरेर व्यवसायमा प्रेरणा दिने सरकारको पहलको खुलेर प्रशंसा गरेका हुन्।
उनले लगानीमैत्री कानुनी सुधार, आर्थिक सुधार आयोगको गठन र सुशासन आयोग स्थापनालाई निजी क्षेत्र र सरकारबीचको सहकार्यको सकारात्मक संकेतका रूपमा लिन सकिने धारणा राख्नुभयो। त्यस्तै, सिआइपीहरूले अन्तर्राष्ट्रिय अभ्यास अनुसार सेवासुविधा पाउनुपर्ने भन्दै उनले विमानस्थलमा विशेष पहुँच, भिआइपी लाउन्ज र छिटो चेक(इन सेवाजस्ता व्यवस्था नेपालमा पनि आवश्यक रहेको उल्लेख गरे।
व्यवसाय प्रवर्द्धन र निर्यात अभिवृद्धिमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको भन्दै अध्यक्ष ढकालले आगामी वर्षहरूमा नेपालको निर्यात १० खर्ब रुपैयाँ पुग्न सक्ने विश्वास व्यक्त गरे। हाल ०.२ प्रतिशतमा सीमित विदेशी लगानीलाई केही वर्षभित्रै १० प्रतिशत पुर्याउन सकिने लक्ष्य पनि उनले प्रस्तुत गरे। चीन, भारत, दुवई, थाइल्याण्ड र स्पेनमा आयोजित व्यापार सम्मेलनहरूबाट नेपालप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको चासो बढेको उनको भनाइ थियो।
ढकालले सिआइपी दिवसको अवधारणा अघि सार्दै हरेक दुई वर्षमा विशेष कार्यक्रममार्फत सम्मानित व्यक्तित्वको योगदानलाई मूल्यांकन गर्नुपर्ने प्रस्ताव गरे। निजी क्षेत्रको मर्यादाक्रम सुनिश्चित गर्नुपर्ने विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराए।


















