बन्दीपुर केवलकारको आईपीओ मंगलवारदेखि बिक्रीमा
वि.सं.२०८२ साउन ६ मंगलवार ११:०७
shares

काठमाडौं, ६ साउन । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले मंगलवारदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) जारी गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोडको २०।७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ निष्कासन हुनेछ । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता छुट्याइएको छ ।
आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।
आयोजना प्रभावित स्थानीयले छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रभावित स्थानीयले केबुलकारको कार्यालय, आँबुखैरैनी गाउँपालिका कार्यालय, भानु नगरपालिका १ कार्यालय तथा पालुङटार नगरपालिका ७ को कार्यालयमार्फत फारम लिन र तिनै कार्यालयमा पनि बुझाउन सक्नेछन् ।
त्यस्तै वैदेशिक रोजगारमा गएकालाई ५ लाख २९ हजार ४ सय कित्ता छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा साउन ९ गतेसम्म र सो दिनसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
उनीहरूले अनलाइन प्रणाली मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार सेवा हो । बन्दीपुरमा केबुलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ ।

















