वैदेशिक व्यापारमा १९ प्रतिशतको वृद्धि, व्यापार घाटा भने अझै १५ खर्ब नाघ्यो
वि.सं.२०८२ साउन ६ मंगलवार ११:५६
shares

काठमाडौं, ६ साउन । नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको तुलनामा यो १९.२४ प्रतिशतले वृद्धि हो।
विभागका अनुसार चालु वर्षमा आयात १३।२५ प्रतिशतले र निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ। यो वर्ष १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ।
अघिल्लो वर्षको तथ्याङ्क अनुसार, १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात र १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको निर्यात भएको थियो। निर्याततर्फ उल्लेखनीय सुधार भए पनि आयात अझै अत्यधिक भएकाले देशको व्यापार घाटा ६ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्षमा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ रहेको व्यापार घाटा चालु आर्थिक वर्षमा बढेर १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। निर्यात वृद्धिले सन्तुलनमा केही सहयोग गरे पनि कुल व्यापार घाटा अझै उच्च रहनु नेपालको आर्थिक संरचनामा आयात निर्भरता कायमै रहेको संकेत हो।

















