Dhulikhel Eco Banner new

एनआरएनए नर्वेको नवौं अधिवेशन आगामी २७ जुलाईमा हुने, ९ जना उम्मेदवार प्रतिस्पर्धामा

3.94K
shares

ओस्लो, नर्वे । ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नर्वेको नवौं अधिवेशन यही आउँदो आइतबार, २७ जुलाई २०२५ मा हुने पक्का भएको छ। निर्वाचन समितिका संयोजक नील अर्यालका अनुसार अधिवेशन तोकिएको मिति र समयमा नै सम्पन्न हुनेछ।

एनआरएनए नर्वेले आगामी कार्यकाल (२०२५–२०२७) को लागि हुने निर्वाचनमा सम्पूर्ण पंजीकृत सदस्यहरूलाई सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गरेको छ। संघले यस अधिवेशनमा संविधान संशोधनलगायतका महत्वपूर्ण विषयमा सुझाव र सल्लाह दिन सम्पूर्ण नर्वेस्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थिति जनाउन अनुरोधसमेत गरेको छ।

विवादपछिको सहमति र अधिवेशनको तयारी

केन्द्रीय समिति भित्र उत्पन्न केही विवादपछि पटक-पटक छलफल गरी अन्ततः अधिवेशन गर्न सफल भएकोमा कार्यसमिति सन्तुष्ट देखिएको छ। कार्यकाल २०२३–२०२५ का अध्यक्ष विष्णु गौतमले वर्तमान कार्यसमिति पूर्ण रूपमा सफल भएको दाबी गरेका छन्। उनका अनुसार विभिन्न संघ-संस्थाका प्रतिनिधि र अग्रज अभियन्ताहरूको पहल तथा समन्वयबाट अधिवेशन सम्भव भएको हो।

प्रतिस्पर्धात्मक निर्वाचन

यसपटकको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र महासचिव पदका लागि प्रतिस्पर्धा हुने भएको छ।अध्यक्ष पदका लागि श्रद्धा सिंह थापा, पवित्र बस्नेत, र सीता श्रेष्ठले उम्मेदवारी दिएका छन्। यस्तै, उपाध्यक्ष पदका लागि धर्मराज अधिकारी, हरिकृष्ण तिमिल्सिना, देव श्रेष्ठ, र श्याम परियारबीच प्रतिस्पर्धा हुने भएको छ।

महासचिव पदमा भने पशुपति प्रसाद भण्डारी र बरूना नन्द पौडेलले उम्मेदवारी दिएका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद् ९क्ष्ऋऋ० प्रतिनिधिका लागि ईश्वरी प्रसाद खनालको एकल उम्मेदवारी परेको छ। त्यसैगरी, ओस्लो बाहिरका लागि एक उपाध्यक्ष पदमा असीम लम्सालको मात्र उम्मेदवारी परेको छ।

कुनै–कुनै पदमा भने उम्मेदवारी नपरेकोले प्रचलित विधानअनुसार सो पदहरूको पूर्ति पछि गरिने निर्वाचन समितिले जनाएको छ।

अधिवेशनमा ७६५ सदस्य, राजदूत प्रमुख अतिथि

निर्वाचन समितिका अनुसार यस अधिवेशनमा जम्मा ७६५ पंजीकृत सदस्य रहेका छन्। अधिवेशनको प्रमुख अतिथि डेनमार्कस्थित नेपाली राजदूत सुमनिमा तुलाधर रहनेछिन्। संघका महासचिव ईश्वरी खनालका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ, र ७० प्रतिशत सदस्यको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।