तीन जना कारागार चलान, राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेत २ लाख धरौटीमा रिहा
वि.सं.२०८२ साउन २२ बिहीवार १२:२६
shares

काठमाडौं, २२ साउन । कर्णाली विकास बैंकमा भएको सवा तीन अर्ब रुपैयाँ घोटाला प्रकरणमा संलग्न ठहर भएका तीन जना अभियुक्तलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ भने एक जना धरौटीमा रिहा भएका छन्।
कारागार चलान गरिएका अभियुक्तहरूमा बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर राय रहेका छन्। उनीहरूलाई न्यायाधीश चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको संयुक्त इजलासले पुर्पक्षमा राखी थुनामा पठाउने आदेश दिएको हो।
यसै प्रकरणमा राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई भने अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। धरौटी बुझाएपछि उनी रिहा भएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली विकास बैंकमा भएको अनुमानित सवा तीन अर्ब रुपैयाँ बराबरको वित्तीय अनियमितता सम्बन्धी अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा तीन जना मृतकसहित १११ जनाविरुद्ध मुद्दा चलाउने सिफारिस गरिएको थियो, भने सरकारी वकिल कार्यालयले १०९ जनाविरुद्ध मात्रै मुद्दा दायर गरेको हो।
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठन गरिएको विशेष छानबिन समितिले प्रारम्भिक अध्ययनपछि ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो। समितिको प्रतिवेदनअनुसार, कर्णाली विकास बैंकका विभिन्न खाताहरूमा रहेको रकम र कोर बैंकिङ प्रणालीमा देखिएको रकमबीच ठूलो अन्तर देखिएको थियो।















