Dhulikhel Eco Banner new

वाणिज्य विभागद्धारा ५ कम्पनीलाई जरिवाना

2.09K
shares

काठमाडौं, २२ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका १० वटा व्यवसायिक संस्थामाथि अनुगमन गरी ५ वटालाई जरिवाना तिराएको छ ।

अन्य ५ सँग स्पष्टीकरण माग गरेको छ । बुधवार नियमित अनुगमनका क्रममा विभागले उपभोक्ता अधिकार हननका उजुरी र स्थलगत निरीक्षणका आधारमा कारबाही प्रक्रिया अघि बढाएको हो। अनुगमनका क्रममा उपभोक्तालाई सेवाप्रदानमा अनियमितता र कानुनी मापदण्डको उल्लंघन देखिएका कारण जरिवाना र स्पष्टिकरणको कदम चालिएको विभागले जानकारी दिएको छ।

विभागले उरी एजुकेशन सेन्टरलाई ५१ हजार रुपैयाँ जरिवाना तिराएको छ। त्यस्तै, सुपरनोभा एजुकेशन कन्सल्टेन्सी सेन्टर र विटल्स कार डेकोरलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। अल कार डेकोरेसन र सुदृष्टि आयकोनिकलाई भने १०–१० हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनकै क्रममा जेभियर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, ओहायो इन्टरनेशनल कन्सल्टेन्सी, एस इम्पेक्स र एप्लायन्सेस हबलाई भने व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले उपभोक्ता संरक्षण ऐनको प्रावधानअनुसार कारबाही अगाडि बढाएको जनाएको छ। नियमित अनुगमनमार्फत बजारमा सेवा र वस्तुको गुणस्तर सुनिश्चित गर्न र उपभोक्ताको अधिकारको संरक्षण गर्न यस्तो कारबाही गरिएको विभागको भनाइ छ।