ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?
वि.सं.२०८२ साउन २५ आइतवार १०:०९
shares

काठमाडौं, २५ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा अघिल्लो आवको तुलनामा खुद नाफा दोब्बरभन्दा बढी वृद्धि गर्न सफल भएको छ।
कम्पनीले गत आवको असार मसान्तसम्म २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो नाफा १० करोड ६२ लाख रुपैयाँ मात्र थियो। सो हिसाबले कम्पनीको नाफा १२१.९१ प्रतिशतले वृद्धि भएको हो।
खुद ब्याज आम्दानी ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७० करोड ४४ लाख रुपैयाँबाट ८४ करोड ४९ लाख रुपैयाँमा वृद्धि भएको छ।
सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो वर्षको १८ करोड ३८ लाख रुपैयाँको तुलनामा चालू आवमा यो नाफा ८३.८५ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १७.१६ रुपैयाँबाट दोब्बरभन्दा बढीले उकालो लागेर ३८.११ रुपैयाँमा पुगेको छ। यो लघुवित्तको आम्दानी क्षमतामा उल्लेखनीय सुधार देखाउने संकेत हो।
कम्पनीले खराब कर्जाको अनुपात पनि ४.०७ प्रतिशतबाट घटाएर ३.६२ प्रतिशतमा झार्न सफल भएको छ। प्रतिशेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) १७ करोड १७ लाख रुपैयाँ रहेको छ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। हालसम्म कम्पनीले ९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ।















