Dhulikhel Eco Banner new

प्रधानमन्त्री ओलीद्वारा मनहरपुर–बघचौडा–सिमरारी सडकको शिलान्यास

1.78K
shares

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बैङ्क तथा मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने सहिद मार्गमा पर्ने मनहरपुर–बघचौडा–सिमरारी सडकको आज जनकपुरधाममा शिलान्यास गरेका छन् ।

कूल १७.३५ किलोमिटरको सो सडकको ४५ करोड ४८ लाखको लागतमा दुई वर्षमा निर्माण हुने भएको हो । वस्ति क्षेत्रमा ८ मिटरको नाला सहित ढलान तथा वस्ति बाहिर १२ मिटर नाला सहितको चौडाइ रहने कालोपत्रे सडकको निर्माण हुने भएको छ । सडकको पहिलो खण्डको निर्माणका लागि २५ करोड ५० लाखमा ठेक्का लागेको मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरआइपी) अन्तर्गत निर्माण हुने सो सडकको निर्माणले सो क्षेत्रका जनतालाई ठुलो राहत मिल्ने भएको छ । मधेश प्रदेशको सदरमुकामलाई निर्वाचन क्षेत्रसँग जोड्ने नीति अन्तर्गत उक्त सडकको निर्माण हुन लागेको हो ।

दुई वर्षमा निर्माण हुने सो सडकको कूल लागत ६५ करोड हुने सडक आयोजनाका प्रोजेक्ट म्यानेजर सन्तोष कुमार यादवले जानकारी दिए । आशीष ओएस आर सी जेभी ललितपुरले ठेक्का पाएको सो सडकको निर्माणमा विश्व बैङ्कको ८० प्रतिशत तथा मधेश प्रदेश सरकारको २० प्रतिशत लगानी रहने मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बताए ।

सडकको दुवै तीर नाला सहित निर्माण हुने उक्त सडकको निर्माण पछि धनुषाको पूर्वी उत्तरी क्षेत्रका दर्जनौँ गाउँका जनतालाई ठुलो मद्दत पुग्ने विश्वास प्रदेश सरकारको रहेको छ । सडकको शिलान्यासपछि स्थानीयवासी निक्कै खुसी भएका छन् ।

शिलान्यास कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, पूर्वमन्त्री उमाशंकर अरगरिया, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी सहितका मन्त्रीहरू तथा उच्च अधिकारीहरू उपस्थित रहनेका थिए।