Dhulikhel Eco Banner new

नेपालबाट भारतलाई ८० मेगावाट थप बिजुली निर्यात गर्ने स्वीकृति प्राप्त

1.9K
shares

काठमाडौं, ६ भदौ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ४८.५ मेगावाट क्षमताको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली निर्यात गर्न अनुमति प्राप्त भएको हो ।

यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् खरिदको स्वीकृति दिएको थियो भने गत साउन २६ गते थप २०० मेगावाट निर्यात गर्न सहमति जनाएको थियो। यी सबै स्वीकृतिहरूपछि नेपालको भारततर्फको कुल विद्युत् निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको थियो। थप ८० मेगावाट स्वीकृतिपछि कुल निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ।

नेपालले वर्षायाममा विद्युत् बिक्री गर्दै आएको छ भने सुख्खा समयमा भारतबाट बिजुली खरिद गर्दै आएको छ। साथै नेपालले बंगलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। बंगलादेशलाई निर्यात हुने ४० मेगावाट सहित नेपालको कुल विद्युत् निर्यात स्वीकृति ११३०.९ मेगावाट पुगेको छ।

नेपाल र भारतबीच भएको द्विपक्षीय सम्झौताअनुसार मध्यम अवधिका लागि आगामी ३१ अक्टोबर २०२६ सम्म विद्युत् निर्यात गर्न पाइने व्यवस्था छ। गत साउनमा मात्र भारत सरकारले नेपालका पाँच जलविद्युत आयोजनाबाट २०० मेगावाट विद्युत् खरिद गर्न सहमति दिएको थियो।

यसअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् निर्यात हुनेछ। आर्थिक वर्ष २०८१र८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो। प्राधिकरणले भारतबाट प्राप्त थप स्वीकृति र आगामी दिनमा थप स्वीकृति पाउँदा निर्यात दोब्बर हुने अपेक्षा गरेको छ।