उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण, ४५० विद्यार्थी लाभान्वित
वि.सं.२०८२ भदौ ६ शुक्रवार १७:१२
shares

काठमाडौं, ६ भदौ । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उदयपुर जिल्लाका विद्यालयहरूमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक किट र सामग्री वितरण गरेको छ। यस अभियानबाट कुल ४५० जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
शिक्षा क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेन, ज्यामिति बक्स लगायतका सामग्री प्रदान गरिएको छ। साथै विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग, पाठ्यपुस्तक लगायत आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको छ।
यस कार्यक्रमअन्तर्गत श्री रुपैरानी आधारभूत विद्यालय (आहाले), जनता आवासीय विद्यालय थलियाटार, वीरेन्द्र आवासीय विद्यालय भन्टाबारी, र श्री आधारभूत विद्यालय बबेलामा सहयोग प्रदान गरिएको छ। यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७ मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आफ्नो सामाजिक उत्तरदायित्व जारी राखेको छ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र शौर्य सिमेन्टको खानी तथा ब्राण्ड टिमको उपस्थिति रहेको थियो। कटारी नगरपालिका–८ का वडा अध्यक्ष नविन्द्र कुमार तामाङको विशेष उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
विद्यालयहरूले प्राप्त सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
शौर्य सिमेन्टका प्रतिनिधिले भने, “शिक्षा नै दिगो विकासको आधार हो। शैक्षिक सामग्रीमार्फत विद्यार्थीहरूलाई अझ राम्रोसँग पढ्न र आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो।”
गुणस्तर, दिगोपन र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शौर्य सिमेन्टले शिक्षा, स्वास्थ्य, संस्कृति र सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
















