Dhulikhel Eco Banner new

साउन महिनामा नेपालको निर्यात झन्डै दोब्बर वृद्धि, वैदेशिक व्यापारमा सकारात्मक संकेत

2.25K
shares

काठमाडौं, ६ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उत्साहजनक संकेत देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात लगभग दोब्बरले वृद्धि भएको छ।

भन्सार विभागका अनुसार, आयातमा ११.४२ प्रतिशत र निर्यातमा ९५.७५ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ। साउन महिनामा कुल १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । गत वर्षको साउन महिनाको १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी हो।

त्यस्तै, निर्यातमा पनि ठूलो सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउन महिनामा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको थियो।

निर्यातमा सुधार भए तापनि आयातको आकार अझै ठूलो भएकाले देशको व्यापार घाटा बढेको छ। गत वर्ष साउन महिनाको व्यापार घाटा ११६ अर्ब १५ करोड रुपैयाँ रहेकोमा यस वर्ष २.५५ प्रतिशत वृद्धि भएर ११९ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ।

आयात र निर्यातको अनुपातमा भने सुधार आएको छ। गत वर्ष जहाँ प्रत्येक १०.५० रुपैयाँको आयात हुँदा १ रुपैयाँको निर्यात हुन्थ्यो, यो अनुपात यस वर्ष घटेर ५.९८ मा झरेको छ, जसले व्यापार सन्तुलनमा सुधारको संकेत गर्दछ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सासमेत बढेको छ। गत वर्ष निर्यातको हिस्सा ८.७० प्रतिशत रहेकोमा यस वर्ष यो १४.३३ प्रतिशत पुगेको छ।

यो तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा सकारात्मक परिवर्तन भइरहेको देखाएको छ र आगामी दिनहरूमा निर्यात वृद्धि र व्यापार घाटा न्यूनिकरणमा थप प्रगति हुने अपेक्षा गरिएको छ।