Dhulikhel Eco Banner new

“पठाओ दशैं महोत्सव–२०८२”मा तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता निशुल्क

4.73K
shares

काठमाडौं, १७ भदौ। पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव २०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र १७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ।

यस विशेष अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ। दशैं महोत्सव अहिलेका लागि काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिएको भए पनि सहभागिताको स्तर हेरेर यसलाई भविष्यमा विस्तार गर्ने तयारी रहेको बताइएको छ।

महोत्सव अवधिभर चालकहरूलाई दैनिक १ प्रतिशतसम्म कमिसन छुट उपलब्ध हुनेछ। जसअनुसार अधिक राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टी भी एस रेडियन एफ आई मोटरसाइकल जित्ने अवसर पाउनेछन्। यसका लागि सहभागिहरूले २१ दिनभित्र कम्तीमा १७० राइडरडेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिसन रेट वा सक्सेस रेट न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने शर्त तोकिएको छ।

यस्तै, महोत्सव अवधिभर पठाओ राइडर बन्न इच्छुक नयाँ सहभागीहरूका लागि निशुल्क दर्ता सुविधा पनि उपलब्ध गराइएको छ। पठाओ नेपालले दशैं महोत्सवलाई रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानीमा नयाँ स्तर थप्ने उद्देश्यसहित अघि सारेको जनाएको छ।