नाडाद्धारा अर्थमन्त्रीलाई अटोमोवाइल क्षेत्रको पुनरुत्थानका लागि २२ बुँदे सुझाव
वि.सं.२०८२ असोज १ बुधवार १०:५०
shares

काठमाडौं, १ असोज । देशको वर्तमान जटिल आर्थिक तथा राजनीतिक परिस्थितिमा अटोमोवाइल क्षेत्रले भोगिरहेको समस्याबारे अर्थमन्त्री रामेश्वर खनालसँग नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएसन (नाडा) को प्रतिनिधिमण्डलले भेट गरी विस्तृत छलफल गरेको छ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायीहरूको सुरक्षासँगै शान्ति, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि सरकारले ठोस नीति तथा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ। अध्यक्ष चौधरीले देशको अर्थतन्त्र कमजोर हुँदै गएको र लगानीकर्ताहरू नेपालमा लगानी गर्न हिच्किचाइरहेको अवस्था रहेको भन्दै सरकारसँग गम्भीर पहलको माग गरेका हुन्।
छलफलमा अध्यक्ष चौधरीले आन्दोलनका क्रममा अटोमोवाइल व्यवसायले भोगेको क्षतिको बीमा रकम चाँडो उपलब्ध गराउनुपर्ने, भन्सार राजस्वमा २७ प्रतिशत योगदान गर्ने अटोमोवाइल क्षेत्रको भूमिकालाई सरकार गम्भीर रूपमा लिनुपर्ने, तथा नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनले गाडीको मूल्य बढ्ने सम्भावनालाई ध्यानमा राखी समायोजन आवश्यक रहेको धारणा राखे।
नाडाले सुस्ताएको अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन २२ बुँदे सुझाव अर्थमन्त्रीलाई पेश गरेको छ। ती सुझावहरूमा बैंक तथा वित्तीय संस्थाबाट सवारी कर्जा प्रवाहका लागि हालको ६० प्रतिशत सीमा बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने महत्वपूर्ण प्रस्ताव पनि रहेको छ।
छलफलका क्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले तातोपानी नाकाबाट सवारी साधन नेपाल भित्र्याउन सडक मर्मतपछि चाँडै यातायात सुचारु गरिने जानकारी दिए। उनले व्यवसायीहरूका लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने तयारी भइरहेको समेत बताए।
त्यस्तै, प्रदूषण मापदण्ड कार्यान्वयनले परेको प्रभावबारे वातावरण मन्त्रालयसँग थप समन्वय गरी आवश्यक निर्णय गरिने आश्वासन दिइएको छ।
अन्त्यमा अर्थमन्त्री खनालले व्यवसायीहरूले प्रस्तुत गरेका सुझावहरूमाथि सरकार गम्भीर भएर छलफल गर्ने र आन्दोलनका कारण भएको क्षतिको विवरण संकलन गरी समुचित राहत प्याकेज ल्याइने जानकारी दिए। उनले बैंक, वित्तीय संस्था तथा कर प्रणालीमार्फत उपलब्ध गराउन सकिने सुविधा तथा सहुलियतका विषयमा मन्त्रिपरिषद्मा छलफल गरिने बताउँदै अटोमोवाइल व्यवसायीहरूसँग प्रत्यक्ष संवाद कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा केन्द्रीय कार्य समिति सदस्यहरू आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति सहभागी भएका थिए।

















