कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह
वि.सं.२०८२ असोज १२ आइतवार १४:४१
shares

काठमाडौं, १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।
महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने “कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरु प्रवद्र्धनका लागि प्रयो गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।”
अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे ।
उनले भने “हामीले जानकारी पयौँ कि यहाँ १२ दिनमात्र अघि सुरु गरिएको भन्सार कार्यालयबाट रु १ अर्ब ४० करोड राजस्व संकलन भएको रहेछ । यसबाट पनि यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक हुन आउँछ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ ।”
चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरोलासम्म एकैदिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो छोटो रुट हुने तथा मानसरोवर पुग्न समेत यो बाटो छोटो हुने भएकाले यस नाकाबाट हुने आवतजावतलाई सहज र व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो ।


















