आज दशैंको जमरा सेलाउने दिन, दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत
वि.सं.२०८२ असोज २० सोमवार १०:३५
shares

काठमाडौं, २० असोज । आज हिन्दू समुदायले कोजाग्रत पूर्णिमा श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। यो दिनलाई देवी लक्ष्मीको विशेष पूजाका रूपमा लिइन्छ, जसअन्तर्गत रातभर जाग्राम बस्दै धन–धान्य र समृद्धिको कामना गरिन्छ।
यसै अवसरसँगै दशैं पर्वको औपचारिक समापन पनि आज हुँदैछ। घटस्थापनादेखि शुरू भई विजयादशमी र टीका आदान–प्रदान हुँदै कोजाग्रत पूर्णिमासम्म चल्ने दशैं आज सम्पन्न हुने परम्परा छ।
आजको दिनदेखि परिवार र आफन्तजनबीच टीका र जमरा लगाउने परम्परा पनि अन्त्य हुँदैछ। साथै, दशैंका लागि विशेष रूपमा अष्टमीका दिन रोपिएको जमरा पनि आजकै दिन सेलाउने गरिन्छ।
कोजाग्रत पूर्णिमाको विशेषता भनेको रातभर देवी लक्ष्मीको जाग्राम बस्ने धार्मिक मान्यता हो। जनविश्वास अनुसार, जसले आजको रात भक्ति भावपूर्वक पूजा र जाग्राम गर्छ, उनीहरूलाई देवी लक्ष्मीको कृपाले धन, समृद्धि र सुख प्राप्त हुने विश्वास गरिन्छ।
घर–घरमा दीप प्रज्वलन, लक्ष्मीको पूजा, भजन–कीर्तन र जाग्राम गर्दै कोजाग्रत पूर्णिमा मनाउने तयारी भइरहेका छन्। यस्तै, विभिन्न मठ–मन्दिरहरूमा समेत लक्ष्मी पूजाका कार्यक्रम आयोजना गरिएका छन्।

















