उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न
वि.सं.२०८२ कात्तिक ११ मंगलवार १०:३१
shares

काठमाडौं, ११ कार्तिक । सूर्यदेवप्रति गहिरो श्रद्धा र भक्ति प्रकट गर्दै मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र अनुष्ठानसहित मनाइने यो पर्व सूर्यदेव र छठी माईको आराधनाको प्रतीकका रूपमा सम्पूर्ण श्रद्धा, संयम र पवित्रताका साथ सम्पन्न गरिन्छ।
पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुहरूले दिनभर निराहार रहेर साँझ सख्खर मिसाइएको खीरको प्रसाद ग्रहण गर्दै ‘खरना’ विधि पूरा गरेका थिए। यसअघि पहिलो दिन अर्थात् कात्तिक शुक्ल चतुर्थीका दिन व्रतालुहरूले स्नान गरी शुद्ध भई व्रत सङ्कल्पसहित चोखो नितो खाने परम्परा पूरा गर्छन्, जसलाई स्थानीय रूपमा ‘नहाय–खाय’ भनिन्छ।
यसैगरी षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएपछि आज सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो छठ पर्व विधिपूर्वक सम्पन्न भएको हो। यस पर्वले परिवार, समाज र प्रकृतिप्रतिको आस्था र समर्पण झल्काउने विश्वास गरिन्छ।

















