Dhulikhel Eco Banner new

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (युरोप)को चौथो अधिवेशन बार्सिलोनामा सम्पन्न, अध्यक्षमा सुवास चन्द्र पुन

8.62K
shares

नर्वे । लोक साहित्य, संस्कृति र दोहोरी गीतको प्रवर्द्धन, संरक्षण तथा व्यवस्थापनका उद्देश्यले स्थापित लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (युरोप)को चौथो अधिवेशन स्पेनको बार्सिलोनामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नर्वे निवासी सुवास चन्द्र पुन मगरको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नयाँ कार्यसमिति चयन
नव–निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष सुवास चन्द्र पुन मगर (नर्वे)ले गर्ने भएका छन्। समितिमा वरिष्ठ उपाध्यक्ष विनिता लामिछाने (फिनल्यान्ड), उपाध्यक्षहरू किरणदिप परियार, दीपक वुढाथोकी र दिनेश खड्का (पोर्चुगल), महिला उपाध्यक्ष कला पंगेनी (पोर्चुगल), महासचिव पुस्तक रेग्मी (पोर्चुगल), सचिव श्याम क्षेत्री (स्पेन) र कोषाध्यक्ष विनोद भण्डारी (फिनल्यान्ड) रहेका छन्।

त्यसैगरी सदस्यहरूमा एरिका शर्मा (फ्रान्स), सीता सुवेदी (बेल्जियम) र गङ्गा आचार्य (फ्रान्स) लगायत रहेका छन्। समितिले युरोपभर रहेका नेपाली कलाकारहरूलाई समेट्दै सशक्त संगठन निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

अधिवेशनको विशेषता
अधिवेशनको पहिलो चरणमा निबर्तमान अध्यक्ष पूर्ण बहादुर आर्यालको अध्यक्षतामा आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत भई सर्वसम्मत रूपमा पारित गरिएको थियो। कार्यक्रममा नेपालकै पहिलो दोहोरी साँझ “पुकार दोहोरी साँझ”का सञ्चालक मुक्त गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

साथै एनआरएन स्पेन र अन्य नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य सहभागिता रह्यो। कार्यक्रममा विभिन्न वक्ताहरूले युरोपभर नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरे।

सांगीतिक, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो।

अध्यक्ष सुवास चन्द्र पुनको प्रतिबद्धता
अध्यक्षमा निर्वाचित भएपछि सुवास चन्द्र पुन मगरले नयाँ नेतृत्वले युरोपभर नेपाली लोक संस्कृति, परम्परा र मौलिकतालाई प्रवर्द्धन गर्न दृढ प्रतिबद्धता व्यक्त गरे। “हामी सबै नेपाली कलाकारहरूको साझा मञ्चका रूपमा यस संस्थालाई अझ सशक्त, ऊर्जाशील र प्रभावकारी बनाउने हाम्रो उद्देश्य हुनेछ,” उनले भने।

उनले संस्थाको अग्रज नेतृत्व, शुभेच्छुक, सहयोगी संघ–संस्था र सम्पूर्ण कलाकार समुदायप्रति आभार व्यक्त गर्दै एकता, सहकार्य र सांस्कृतिक अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाए।

बार्सिलोनामा सम्पन्न अधिवेशनमा युरोपका ३१ देशबाट करिब २०० प्रतिनिधिको उपस्थिति रहेको थियो। अधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजक समितिले सबै सहभागी, अतिथि तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।