राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँ बराबरको “६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९” जारी हुने
वि.सं.२०८२ कात्तिक २० बिहीवार १६:५०
shares

काठमाडौं, २० कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र “६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९” को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ जसअन्तर्गत ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुने १ अर्ब ८० करोड रुपैयाँ बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवरमा निजी रूपमा (प्राइभेट प्लेसमेन्ट) र बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधिः ७ वर्षको हुनेछ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपाल सरकारको स्वामित्वमा रहेको एक अग्रणी वाणिज्य बैंक हो जसले देशभरका ३१० शाखामार्फत आधुनिक बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।
बैंकले आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै छिटोछरितो सेवा प्रवाह गर्दै आएको छ। “तपाईंको आफ्नै बैंक” भन्ने नारालाई सार्थक बनाउन बैंकले ग्राहक हितका विविध योजनाहरूमार्फत निरन्तर सेवा विस्तार गरिरहेको छ।
















