Dhulikhel Eco Banner new

माधव तिवारी स्टाटस प्रकरणः साइबरब्यूरोमा हाजिर भए तिम्सिना

7.81K
shares

काठमाडौं, २४ कात्तिक । पत्रकार माधव तिवारीको उजुरी पछि नेपाल प्रहरीको साइबर ब्यूरोले प्रकाश तिमल्सिनालाई बोलाएको छ । तिमल्सिना भोटाहिटीस्थित ब्यूरोमा हाजिर भएका छन् । अहिले उनीसँग सोधपुछ भइरहेको ब्यूरोले बताएको छ ।

तिवारीको बारेमा गुरु भट्टराई नामका व्यक्तिले चरित्र हत्या गर्ने उदेश्यले स्टाटस राखेको र त्यसलाई भिडियो बनाएर तिमल्सिनाले आफ्नो फेसवुकमा राखेको भन्दै तिवारीले ब्यूरोमा उजुरी दिएका थिए ।

प्रारम्भिक सोधपुछमा तिम्सिनाले आफूले चरित्रहत्या गर्ने उदेश्यले भिडियो पोष्ट नगरेको बताएका छन् । उनले सो भिडियो आफूले नबनाएको समेत बताएका छन् । अहिले एसपी बीरेन्द्र बहादुर शाहीको उपस्थितिमा सोधपुछ चलिरहेको छ । अर्का व्यक्ति गुरु भट्टराई भने फोन अफ गरेर सम्पर्क विहीन भएको ब्यूरोका एक अधिकृतले बताए ।

उजुरी दिने तिवारी नेपाल पत्रकार महासंघको एसोसिएट संस्था पत्रकारिता विकास समाजका अध्यक्ष एवं इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का पूर्व उपाध्यक्ष हुन् । आरोपित तिमल्सिना पनि पत्रकार हुन् ।