Dhulikhel Eco Banner new

अध्यक्ष ढकाललाई धादिङको विशेष कोशेली एक डाली मास

2.99K
shares

काठमाडौं, २८ कार्तिक । धादिङको पहिचान मानिने कालो मास बिहीबार एक समारोहमा प्रमुख आकर्षण बन्यो। जिल्ला उद्योग वाणिज्य सङ्घ, धादिङले ‘मायाको चिनो’का रूपमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित अन्य विशिष्ट अतिथिलाई डालीभरि धादिङको रैथाने मास प्रदान गरेपछि कार्यक्रम स्थलमै यसको विशेष चर्चा चल्यो ।

चोयाले बुनेको चिटिक्क डाली र त्यसमा राखिएको धादिङको कालो मास मलेखु क्षेत्रको चिनारी नै बनेको यो उत्पादन उपहार पाउने अतिथिहरूका लागि अनपेक्षित र अर्थपूर्ण क्षण बन्यो। सामान्यतया यस्ता समारोहमा आयातित सजावटका सामान उपहारमा दिने चलन रहे पनि यसपटक सङ्घले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै भिन्न संदेश दिन सफल भएको सहभागीहरूले बताए ।

धादिङको नीलकण्ठ नगरपालिकामा आयोजित जिल्ला उद्योग वाणिज्य सङ्घको ३२औँ वार्षिक साधारणसभा समारोहमा अध्यक्ष रामकुमार डल्लाकोटी स्वयं डालीमा मास राखी अतिथिहरूको विदाइतर्फ अघि बढे। परबाट के समान होला भनेर छुट्याउन कठिन भए पनि नजिक पुग्ने जो कोहीले यो धादिङकै चर्चित मास हो भन्ने सहजै पहिचान गरे ।

धादिङमा ठूलो मात्रामा उत्पादन हुने कालो मास तथा अन्य गेडागुडी देशभर लोकप्रिय छन्। मलेखु हुँदै काठमाडौं आउजाउ गर्ने अधिकांश यात्रुका लागि पनि यहाँका गेडागुडी विशेष कोशेलीका रूपमा सम्झिन्छन्। यही उत्पादनलाई उद्योगी व्यवसायीहरूको राष्ट्रिय नेतृत्वसम्म पुर्‍याइदिँदा स्थानीय किसान र उत्पादकलाई पनि हौसला मिल्ने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादन प्रवर्द्धनका लागि गरिएको यो प्रयास धादिङको पहिचान थप उजागर गर्दै जिल्लाको कृषि उद्यमलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।