पोखरा एभेन्जर्सका चौका–छक्काबाट स्वच्छ पानी ट्यांकी वितरण अभियान सुरु
वि.सं.२०८२ मंसिर ११ बिहीवार १२:२५
shares

काठमाडौं, ११ मंसिर । टेन्प्लास्ट र टेन्स्टीलले पोखरा एभेन्जर्ससँगको सहकार्यमा नयाँ सामुदायिक अभियान “टेन्प्लास्ट इम्प्याक्ट क्याम्पेन” सुरु गरेका छन्। यस अभियानको उद्देश्य खेलमैदानमा भएको प्रदर्शनलाई प्रत्यक्ष रूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्नु हो।
अभियानअनुसार पोखरा एभेन्जर्सले खेलेका प्रत्येक चौका, छक्का र जितले पानी ट्यांकी वितरणमा परिणत हुनेछ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, प्रत्येक चौकामा ३०० लिटर, प्रत्येक छक्कामा ५०० लिटर र टिमले जितेको हरेक खेलमा १००० लिटर पानी ट्यांकी वितरण गरिनेछ।
टेन्प्लास्टका प्रतिनिधिले भने, “प्रत्येक रन र प्रत्येक जित अब समुदायका लागि प्रत्यक्ष सहयोग बन्नेछ।” यी ट्यांकीहरू स्वच्छ पानी अभाव भएका क्षेत्र, विद्यालय र स्थानीय संरचनामा उपलब्ध गराइनेछन्। कम्पनीले यस अभियानलाई सामाजिक उत्तरदायित्वलाई व्यावहारिक समाधानसँग जोड्ने प्रयासको रूपमा महत्त्वपूर्ण बताएको छ।
अभियानको माध्यमबाट खेलप्रेमीहरूले क्रिकेटको रोमाञ्चक खेल हेर्ने अवसर पाउने मात्र नभई, समुदायमा प्रत्यक्ष पुग्ने सहयोगको प्रभावलाई पनि नजिकबाट देख्न सक्नेछन्। टेन्प्लास्ट र टेन्स्टील दुवैले यस अभियानले दीर्घकालीन स्वास्थ्य सुरक्षा र स्वच्छ पानी पहुँचमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
















