कुमारी बैंकद्वारा हरित हायर पर्चेज कर्जा योजना सार्वजनिक
वि.सं.२०८२ मंसिर २९ सोमवार १३:०७
shares

काठमाडौं, २९ मंसिर । दिगो विकासका लक्ष्यहरू हासिल गर्न टेवा पुर्याउने उद्देश्यले कुमारी बैंक लिमिटेडले हरित हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ। दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै बैंकले यो योजना जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था, ग्लोबल हरित विकास संस्थानलगायत निकायहरूको सहकार्यमा सञ्चालित दिगो विद्युतीय यातायात नेपाल परियोजना अन्तर्गत ल्याएको हो।
यस योजनाअन्तर्गत सार्वजनिक यातायात क्षेत्रमा संलग्न व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रोबस खरिद गर्दा आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नेछन्। साथै ऋणीले भुक्तानी गर्नुपर्ने प्रारम्भिक रकममा परियोजनाबाट तोकिएको अनुदानसमेत उपलब्ध गराइनेछ।
त्यसैगरी हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनलाई विद्युतीय बस तथा माइक्रोबसमा रूपान्तरण गर्न चाहेमा पनि कर्जा तथा थप अनुदान सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यसका लागि परियोजनामा आबद्ध सवारी साधन आपूर्तिकर्ताबाट आवश्यक कागजातसहित कुमारी बैंकका शाखामा सम्पर्क गर्नुपर्नेछ।
कुमारी बैंकको दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाअन्तर्गत उपलब्ध गराइने अनुदानले ऋणीहरूको प्रारम्भिक पूँजी व्यवस्थापनमा सहुलियत पुग्नुका साथै सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढेर वातावरणीय प्रदूषण न्यूनीकरणमा योगदान पुग्नेछ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा, ५० विस्तार काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ स्वचालित टेलर मेसिनमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनहरूमा अझ सरल, सहज तथा गुणस्तरीय सेवाका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।















