चार महिनामै पौने ७ खर्ब रेमिट्यान्स, ३१ प्रतिशतले वृद्धि
वि.सं.२०८२ मंसिर २९ सोमवार १५:५७
shares

काठमाडौं, २९ मंसिर । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा नेपालमा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा कुल ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो।
राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको कात्तिक महिनामा यस्तो रकम १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ मात्र रहेको थियो।
अमेरिकी डलरमा हेर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि दर ८.२ प्रतिशत मात्रै थियो।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि उल्लेख्य रूपमा बढेको छ। कात्तिकसम्म यस्तो आय ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ पुगेको छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ रहेको छ।
गत वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ मात्रै थियो।



















