Dhulikhel Eco Banner new

नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न

3.12K
shares

काठमाडौं, २९ मंसिर । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मिति २०८२/०८/२५ मा अध्यक्ष श्रीमती रितु सिंह वैद्यको अध्यक्षतामा आफ्नो पहिलो वार्षिक साधारण सभा नाइमा कार्यालय, कमलपोखरी, काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरेको छ।

सभाले संस्थाको स्थापना देखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताए। उनले विगत नौ महिनामा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो नाइमा मोबिलिटी एक्स्पो २०८२ को सफल आयोजनाले अटोमोबाइल क्षेत्रका सरोकारवालालाई एउटै थलोमा ल्याई प्रदर्शनी अवलोकन तथा मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरू सञ्चालन गरिएको उल्लेख गर्नुभयो। यसले संस्थाको भूमिका अझ व्यापक र विश्वसनीय बनेको उनको भनाइ थियो।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन, साथै आगामी वर्षको कार्यक्रम र वित्तीय योजना प्रस्तुत गरे। उनले दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता तथा जिम्मेवार वित्तीय व्यवस्थापनप्रति नाइमा कार्यालयको प्रतिबद्धता दोहोर्याए।

सभामा सहभागी सदस्यहरूले नाइमाले सक्रिय र प्रभावकारी रूपमा गरिरहेको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आपत्कालीन अवस्थामा राज्यका निकायहरूलाई सहयोग गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए।

सभाले २०८२/८३ का कार्यक्रमहरू समेत पारित गरेको छ। जसमा नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन तथा अनुसन्धान, नीतिगत बहस र पैरवी, तथा नाइमा मोबिलिटी एक्स्पो २०८३ को आयोजना समावेश छन्। नाइमा ले उक्त एक्स्पो २०८३ श्रावण २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी गरेको छ।

संस्थागत सुदृढीकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा रणनीति तथा सदस्यता मामिला समिति गठन गर्ने निर्णय गरिएको छ। साथै सिग्नेचर ग्रुप प्रा।लि। लाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई अनुसन्धान, मिडिया तथा डेटा समितिको सदस्यमा मनोनयन गरिएको छ।

सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरूलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमा निरन्तर सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरे।