Dhulikhel Eco Banner new

ज्योति विकास बैंकका कर्मचारीमाथि आक्रमणप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघको आपत्ति

2.96K
shares

काठमाडौं, २९ मंसिर । नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि पछिल्लो समय बढ्दै गएको आक्रमण, दुर्व्यवहार र भौतिक क्षतिप्रति गम्भीर आपत्ति जनाएको छ।

संघले जारी गरेको ध्यानाकर्षण विज्ञप्तीमा केही समूह तथा व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थाविरुद्ध भ्रामक र गलत प्रचार–प्रसार गर्दै आम जनमानसमा नकारात्मक सन्देश फैलाएको उल्लेख गरिएको छ। यसकै असरस्वरूप विभिन्न स्थानमा शाखा कार्यालयहरूमा आक्रमण, तोडफोड तथा कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिटका घटनाहरू बढ्दै गएको संघको भनाइ छ।

यसै सन्दर्भमा, ज्योति विकास बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सबिन श्रेष्ठमाथि कार्य जिम्मेवारी निर्वाह गर्ने क्रममा अराजक समूहले कालोमोसो दल्ने, जुत्ताको माला लगाउने तथा कुटपिट गर्ने घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले वित्तीय संस्थाका कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता गर्न, दोषीमाथि तत्काल कानुनी कारबाही गर्न तथा वित्तीय क्षेत्रप्रति फैलाइँदै आएको भ्रामक प्रचार रोक्न सम्बन्धित निकायसँग माग गरेको छ।