Dhulikhel Eco Banner new

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

5.16K
shares

काठमाडौं, १२ असार । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्याद गुज्रेको मैदा, मसला, पाउण्डर दूध, खानेतेल, सुर्ति, बिँडी, भुज, चिउरालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको सो डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए।

यस्तै सिरहाको धनगढीमाई –१० स्थित धनगढी बजारमा गरिएको बजार अनुगमनका क्रममा रोहित किराना पसल, शम्भु एण्ड धीरज ट्रेडर्स र ओमनमः शिवाय किराना पसलबाट म्याद गुज्रेको मैदा, खानेतेल, स्वायबिन, मसलालगायतका सामान नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले बताए ।

उहाँका अनुसार धनगढी बजारस्थित विभिन्न होटल तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हानिकारक रङको प्रयोग गरी तयार पारिएको मिठाई तथा म्याद गुज्रेको पेय पदार्थसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न र दर्ता नभएका पसल, व्यवसायी दर्ता गराउन पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए।

अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनी बताउछन् । विगतमा सहर केन्द्रित गर्दै आएको बजार अनुगमनलाई केही दिनदेखि ग्रामीण क्षेत्रमा केन्द्रित गरेको उ्नको भनाइ छ ।