Dhulikhel Eco Banner new

उच्छृङ्खल गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही हुनेछः राष्ट्र बैंक

17.73K
shares

काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा तिनमा कार्यरत कर्मचारीमाथि हुने गैरव्यावसायिक र उच्छृङ्खल गतिविधिमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। पछिल्लो समय विभिन्न स्थानमा बैंकका कर्मचारीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढ्दै गएपछि केन्द्रीय बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेप नै कर्जाका रूपमा प्रवाह गरिने स्पष्ट पार्दै कर्जा असुली नहुँदा निक्षेपकर्ताको रकम फिर्ता गर्न कठिनाइ हुने जनाएको छ। ‘कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने र तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय बैंकले कुनै प्रतिकूल परिस्थितिका कारण ऋण तिर्न नसकिएको अवस्थामा समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा उपलब्ध गराउँदै आएको स्मरण गराउँदै समस्या आए कानुनी बाटो अवलम्बन गर्न आग्रह गरेको छ। साथै, बैंकिङ कारोबारप्रति असन्तुष्टि भए सम्बन्धित बैंक वा राष्ट्र बैंकअन्तर्गतको गुनासो सुनुवाइ संयन्त्रमार्फत उजुरी गर्न सकिने व्यवस्था रहेको पनि जनाएको छ।

राष्ट्र बैंकका अनुसार वित्तीय संस्था र कर्मचारीविरुद्धका अराजक गतिविधि नरोकिए वित्तीय साधन परिचालनमा गम्भीर असर पर्ने र सर्वसाधारणको वित्तीय सेवामा पहुँच नै प्रभावित हुने खतरा रहन्छ। केन्द्रीय बैंकले सबैलाई अराजक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेको छ।