एनएमबि बैंकद्वारा अनलाइन कर्जा ट्र्याकिङ सुविधा सार्वजनिक
वि.सं.२०८२ पुस १ मंगलवार १७:१८
shares

काठमाडौं, १ पुस । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ डिजिटल सेवा अन्तर्गत अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ। यस सेवामार्फत बैंकका ग्राहकहरूले व्यक्तिगत तथा साना तथा मझौला उद्यम कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न सक्नेछन्।
बैंकका अनुसार अब कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो फाइलको अवस्थाबारे जानकारी लिन बैंक शाखामा धाउनुपर्ने वा बारम्बार फोन सम्पर्क गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। कर्जाका लागि आवश्यक कागजात पेश गरेपछि ग्राहकलाई एक ट्र्याकिङ नम्बर प्रदान गरिनेछ, जसको प्रयोग गरी कर्जा प्रक्रियाको प्रगति सजिलै हेर्न सकिने बैंकले जनाएको छ।
ग्राहकहरूले उक्त ट्र्याकिङ नम्बर प्रयोग गरी एनएमबि बैंकको वेबसाइटमा गई डिजिटल बैंकिङ खण्डअन्तर्गत रहेको अनलाइन कर्जा ट्र्याकिङ विकल्पमार्फत आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी लिन सक्नेछन्। साथै, बैंकले उपलब्ध गराएको सिधा लिंकमार्फत पनि सेवा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।
एनएमबि बैंकले यस डिजिटल सुविधाले कर्जा प्रक्रिया थप पारदर्शी, सहज र ग्राहकमैत्री बन्ने विश्वास व्यक्त गरेको छ। बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ



















