Dhulikhel Eco Banner new

जेन–जि आन्दोलनबाट प्रभावित निकायलाई नाइमाको आपतकालीन सहयोग हस्तान्तरण

2.77K
shares

 

काठमाडौं, ९ पुस । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गत भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा प्रभावित यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

मंगलबार सम्पन्न हस्तान्तरण कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले सम्बन्धित निकायलाई सहयोग हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सोही सहयोगका कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताए। उनले नाइमाप्रति आभार व्यक्त गरे।

यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत तथा सदस्यस्तरको सहयोगको उच्च प्रशंसा गरे। उनले छोटो समयमै नाइमाले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापित गर्न सफल भएको उल्लेख गर्दै नाइमालाई ट्राफिक शिक्षा र व्यवस्थापनको भरपर्दो सहयात्रीका रूपमा चित्रण गरे।

कार्यक्रममा नाइमा अध्यक्ष वैद्यले संकटको घडीमा सानो सहयोग गर्न पाएकोमा गौरव महसुस गरेको बताउँदै सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु संस्थाको कार्यगत अवधारणा रहेको र आगामी दिनमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यकारी निर्देशक दुलालका अनुसार यातायात व्यवस्था विभाग मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल तथा ढोकाहरूको पुनर्निर्माण गर्नुका साथै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टरलगायत सामग्री सहयोग प्रदान गरिएको हो।