Dhulikhel Eco Banner new

चार महिनामा करिब ५ खर्बको व्यापार घाटा

4.95K
shares

काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले करिब ५ खर्बको व्यापार घाटा व्यहोरेको छ । साउन महिनादेखि कात्तिक मसान्तसम्म नेपालले ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । चालु आर्थिक वर्षको चार महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले व्यापार घाटामा कमी आएको छ । यो अवधिमा १५.८८ प्रतिशत व्यापार घाटामा कमी आएकोे हो ।

त्यस्तै, नेपालले चार महिनाको अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । सरकारले उच्च आयातका कारण तरलता अभाव भएको भन्दै विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा यो वर्षको चार महिनाको अवधिमा गत वर्षको तुलनामा १८.० प्रतिशतले कमी आएको विभागको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, चार महिनाको अवधिमा ३३.३० प्रतिशतले निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्अनुसार चार महिनाको अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार मूल्य बराबरको वस्तु निर्यात गरेको थियो ।