GBIME

कर्जा प्रवाह ३ प्रतिशतले बढ्यो, वाणिज्य बैंकको २.८ र विकास बैंकको करिब ५ प्रतिशतले वृद्धि

1.1K
shares

काठमाडौं, २४ माघ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान वित्तीय स्थिति अनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा १३७ अर्ब ३३ करोडले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो कर्जा प्रवाह १२.१ प्रतिशतले बढेको थियो । पछिल्लो सयम ब्याजदर बढेकाले कर्जा प्रवाहमा कमी आएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४९२ अर्ब ६३ करोडले बढाएका थिए ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरुको ४.९ प्रतिशतले र वित्त कम्पनीहरुको १.६ प्रतिशतले बढेको छ । २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.६ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.७ प्रतिशतले, अधिविकर्ष कर्जा ८.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १.४ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ८.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ७ प्रतिशतले र हायर पर्चेज कर्जा ८.७ प्रतिशतले घटेको छ ।