घरजग्गा कारोबारबाट एक महिनामा झण्डै ४ अर्ब राजश्व संकलन
वि.सं.२०७९ फागुन ३ बुधवार ०८:१७
shares

काठमाडौं, २ फागुन । घर जग्गा किनबेचबाट माघ महिनामा झण्डै ४ अर्बको राजश्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा घरजग्गा किनबेचबाट ३ अर्ब ७५ करोड ८ लाख बराबरको राजश्व संकलन भएको हो ।
पछिल्लो दिनमा घरजग्गाको कारोबार बढेसँगै राजश्व संकलनमा पनि वृद्धि भएको छ । विभागको तथ्यांक अनुसार पुस महिनाको तुलनामा माघ महिनामा राजश्व संकलन वृद्धि भएको छ । पुस महिनामा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ७१ करोड ५९ लाख बराबरको राजश्व संकलन भएको थियो । त्यस्तै मंसिर महिनामा घरजग्गा किनबेचबाट २ अर्ब ६४ करोड बरोबरको राजश्व संकलन भएको थियो ।
माघ महिनामा संकलित राजश्वमध्ये देशभरका मालपोत कार्यालयहरुबाट सेवा करबापत २२ करोड ७४ लाख रुपैयाँ, बागमतिबापत १४ करोड ४० लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९६ करोड ३० लाख रुपैयाँ, पुँजीगत लाभकरबापत १ अर्ब ७ करोड ८० लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ५९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
माघ महिनामा सबैभन्दा बढी राजश्व मालापोत कार्यालय लगनखेलले संकलन गरेको छ । सो कार्यालयले ३२ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, भक्तपुर मालपोत कार्यालयबाट २३ करोड ३२ लाख रुपैयाँ, मालपोत कार्यालय डिल्लीबजारबाट २१ करोड ७० लाख रुपैयाँ, कलंकीबाट २० करोड १३ लाख रुपैयाँ, चावहिलबाट १९ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै उपत्यका बाहिर मालपोत कार्यालय कास्कीबाट १२ करोड ९० लाख रुपैयाँ र चितवन मालपोतबाट १० करोड ५६ लाख रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्यांकले देखाएको छ ।
गत जेठमा जारी गरेको भू–उपयोग नियमावलीले देशभर कित्ताकाट ठप्प हुँदा कारोबारमा निकै समस्या भएको थियो । तर पछिल्लो सयम भने घरजग्गाको कारोबारमा सुधार भइरहेको छ । उक्त नियमावलीले गर्दा मासिक ३० हजारको हाराहारीमा पनि घरजग्गा किनबेच हुन सकेको थिएन । तर, पछिल्लो समय स्थानीय तहले कित्ताकाटको कार्य अगाडि बढाएसँगै मासिकरुपमा घरजग्गा किनबेच बढ्दै गएको छ ।
माघ महिनामा देशभरबाट ४१ हजार ८६ वटा घरजग्गा किनबेच भएको छ । पुस महिनामा ३८ हजार ८७१ घरजग्गा किनबेच भएका थिए । विभागको तथ्यांक अनुसार माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट गरिएको छ । जसबाट ५४ हजार ४७८ वटा कित्ता कायम भएको छ । जुन नियमावली जारी भएपछिको हालसम्मकै उच्च कित्ताकाट हो । गत पुसमा देशभर २१ हजार १९२ जग्गा वर्गीकरण भई ४९ हजार ४७४ कित्ता कायम भएको थियो ।


















