तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा परिवर्तन भएको छैन : अर्थमन्त्री महत
वि.सं.२०८० जेठ २९ सोमवार १७:०१
shares

काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साविकमा तोरी,भटमास र सनफ्लावरको दाना तथा क्रुड आयातमा लाग्दै आएको भन्सार महसुल दरमा कुनै पनि परिवर्तन नगरिएको बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले सरकारको कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको फरक दर निर्धारण गर्ने नीति रहेको र सोही नीति अनुरुप दानामा ५ प्रतिशत,क्रुड आयलमा १० प्रतिशत र तयारी तेलमा १५ प्रतिशतको फरक भन्सार दर लाग्ने व्यवस्था रहेको प्रष्ट पारे ।
उनले भने ‘ आर्थिक ऐन,२०७९ ले तोरी,भटमास र सनफ्लावरको दानामा ५ प्रतिशत र क्रुड आयलमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेकोमा आर्थिक ऐन,२०७९ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ भाद्र २३ गतेको बैठकले तोरी, भटमास र सनफ्लावरको दाना र क्रुड आयल पैठारी हँुंदा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने गरी पटके निर्णय गरेको र यस्ता पटके छुटलाई नयाँ आर्थिक ऐनले सम्बोधन नगरेमा स्वत खारेज हुने व्यवस्था रहेको छ ।
अर्थमन्त्री महतले निकासी गर्ने प्रयोजनले पैठारी गर्ने वस्तुमा लाग्ने महसुल वापत वैंक जमानत राखि पैठारी गर्न सक्ने व्यवस्था रहेकोले चालु आर्थिक वर्षको बैशाखसम्म करिब २१ अर्ब मूल्य बरावरको क्रुड आयल प्रस्तुत सुविधा उपभोग गरी पैठारी रहेको पनि बताए ।
नेपाल सरकारले आर्थिक वर्षको बीचमा प्रस्तुत वस्तुहरुमा लाग्ने महसुलमा ९० प्रतिशत छुट दिएको कारण बैशाखसम्म करिव ६ अर्ब ९५ करोड रुपैयाँ राजस्व छुट हुन गएको पनि जानकारी पनि उनले दिए ।
















