Dhulikhel Eco Banner new

भक्तपुरले ल्यायो २ अर्ब २६ करोडको बजेट, शिक्षा क्षेत्र प्राथमिकतामा

5.24K
shares

काठमाडौं, १० असार । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ। नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्।

२ अर्ब १८ करोडको रकम प्रस्तुत गरिएकोमा ४२ करोडभन्दा बढी रकम शिक्षामा मात्रै विनियोजन गरिएको छ । ‘नगरपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सर्वविदितै छ । शिक्षा तथा संस्कृति क्षेत्रमा ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ’, बजेटमा भनिएको छ ।

भक्तपुरले बजेटमार्फत साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ। यस्तै भक्तपुरको लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ । भक्तपुरले बजेटमार्फत आकाशे पानी संकलन गर्ने समेत घोषणा गरेको छ।

उपप्रमुख जोशीले खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि १ करोड छुट्याएको बताइन्। खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड छुट्याएको छ।

नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ।  नगरपालिकाले देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड रुपैयाँ छुट्याएको छ ।