Dhulikhel Eco Banner new

चालु पुँजी कर्जामा राष्ट्र बैंक लचक, ३ करोडसम्म मापदण्ड नलाग्ने

12.86K
shares

 

काठमाडाैं, ११ भदाै ।  उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो । उद्योग बाहेक कर्जाको हकमा भने १ करोड रुपैयाँसम्म विद्यमान सीमा भने यथावत राखिएको छ ।

‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन,’ संशोधित मार्गनिर्देशनमा भनिएको छ । यसअघि सबै प्रकारको कर्जामा यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो ।

यस्तै, फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोड रुपैयाँसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि कुल २ करोड वा सोभन्दा कम रकमको चालू पुँजीकर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था थियो ।

यस्तै, उत्पादनमूलक उद्योग भन्नाले कच्चा पदार्थ वा अर्धतयारी सामानको प्रयोगबाट निश्चित मानव/मेसिनरीको प्रयोग गरी मूल्य अभिवृद्धि गराई कुनै वस्तु उत्पादन गर्ने उद्योगलाई जनाउने पनि राष्ट्र बैंकले जनाएकाे छ ।

सरकारी, अर्धसरकारी तथा बहुराष्ट्रिय संस्थाहरुसँग सम्बन्धित कार्य सम्पादन गर्न गरिएको निर्माण व्यवसायसँग सम्बन्धित ठेक्का सम्झौताअन्तर्गतका बहुवर्षीय परियोजनाहरुका लागि प्रवाहित कर्जाको हकमा मात्र उक्त परियोजना अवधिभर कर्जा नवीकरण तथा पुनरावलोकन गर्दा ‘भेरियन्स एनालाइसिस’ गरी कर्जा सीमा घटाउन अनिवार्य नहुने व्यवस्था पनि मार्गदर्शनमा छ ।