Dhulikhel Eco Banner new

पाँच महिनामा पेट्रोल, ग्यास र हवाई इन्धनको आयात बढ्यो, घट्यो डिजेल

2.95K
shares

काठमाडौं, ८ पुस । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको हो ।

यस वर्ष मसिंरसम्म ४ लाख ७२ हजार ८ सय ७ किलोलिटर डिजेल आयात भएको छ भने गत आव मंसिरसम्म ४ लाख ८९ हजार ९ सय ३६ किलोलिटर डिजेल आयात भएको थियो ।

डिजेल आयातमा ४२ अर्ब १७ करोड २८ लाख बराबर रकम विदेशिएको छ भने गत आव मंसिरसम्म ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँ रकम डिजेल आयातमा विदेशिएको थियो ।

यस वर्ष पेट्रोल आयात ३ लाख ६ हजार २ सय २९ किलोलिटर बराबर भएको छ । गत वर्ष मंसिरसम्म २ लाख ८१ हजार ९ सय ७० किलोलिटर बराबर थियो ।

खर्च यस वर्ष मंसिरसम्म पेट्रोल आयातमा २६ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पेट्रोल आयातमा खर्च भएको छ । गत वर्ष यो रकम २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ थियो ।

खाना पकाउने ग्यास यस वर्ष मंसिरसम्म २१ करोड ७७ लाख ७४ हजार ४ सय ३३ किलो आयात भएको छ । गत वर्ष मंसिरसम्म २१ करोड ४२ लाख ९१ हजार ६ किलो ग्यास आयात भएको थियो ।

ग्यास आयातमा यस वर्ष २४ अर्ब २२ करोड ९१ लाख खर्च भएको छ । गत वर्ष यो रकम २० अर्ब ६५ करोड ५८ लाख रहेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

त्यस्तै, हवाई इन्धन यस वर्ष ८९ हजार ५ सय ४५ किलोलिटर आयात भएको छ । गत वर्ष मंसिरसम्म ७८ हजार १ सय १२ किलोलिटर हवाई इन्धन आयात भएको थियो । हवाई इन्धन आयातमा यस वर्ष ८ अर्ब १४ करोड ५९ लाख खर्च भएको छ । गत वर्ष यो रकम ८ अर्ब ६६ करोड २१ लाख बराबर थियो ।