Dhulikhel Eco Banner new

कोरला नाकाबाट एक महिनामै ५ अर्बभन्दा बढीको व्यापार

रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि मुस्ताङको कोरला वैकल्पिक व्यापारिक केन्द्रमा

2.35K
shares

काठमाडौं, १० कात्तिक । रसुवा र तातोपानी नाका पहिरोका कारण अवरुद्ध भएपछि मुस्ताङस्थित कोरला नाका चीनसँगको वैकल्पिक व्यापारिक मार्गका रूपमा तीव्र गतिमा अगाडि बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमै यो नाकाबाट ५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार भएको छ।

कोरला नाकाबाट ५ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ भने ९१ लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु चीनतर्फ निर्यात भएको विभागले जनाएको छ। पछिल्ला दिनमा यो नाकाबाट विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा तथा फलफूलको आयात उल्लेख्य रूपमा बढेको छ।

२४ असारमा रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको थियो। त्यसैगरी तातोपानी नाका पनि कोदारी राजमार्गमा आएको पहिरोका कारण लामो समयदेखि अवरुद्ध छ। त्यसपछि नेपाल र चीनले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याएका हुन्। यो नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।

नाकामा आशिकुडा प्रणाली सञ्चालनमा आइसकेको छ भने नेपाल राष्ट्र बैंकले समेत मुस्ताङ भन्सार कार्यालयलाई चीनबाट प्रतीतपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मार्फत सहजीकरण गरेको छ।

तथ्यांकअनुसार पछिल्ला तीन महिनामा रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात शून्य देखिन्छ। तातोपानी नाकाबाट भने ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात भएको छ तर निर्यात त्यहाँ पनि शून्य छ।

हालसम्म चीनसँग नेपालको कुल व्यापारमा आयाततर्फ १ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ र निर्याततर्फ १८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।