Dhulikhel Eco Banner new

कटारी १२ का वडा अध्यक्षको निर्णय, सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

8.02K
shares

काठमाडौं, २१ जेठ । उदयपुरको कटारी नगरपालिका वडा नम्वर–१२ मा नवनिर्वाचित वडा अध्यक्ष यम्बरबहादुर कटुवाल ‘बाँसु’ले पदभार सम्हाल्दै वडाका सम्पूर्ण नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो निर्णय गरेका छन् ।

वडा अध्यक्ष कटुवालले वडाका घरधुरी र जनसंख्याको पहिचान गर्ने काम सुरु भएको जानकारी दिदै सम्पूर्ण विवरण आए पछि बीमा गर्ने कार्यको सुरुवात गरिने बताएका हुन् । ‘हामीले नेपाल सरकारको स्वास्थ्य जीवन बीमा कार्यक्रम अन्र्तगत रहेर सम्पूर्ण वडाबासीको जीवन विमाको रकम वडाले नै तिर्ने गरी पहिलो निर्णय गरेका हौँ,’ अध्यक्ष कटुवाले भने ।

वडा भित्रका जेष्ठ नागरिक, युवा, महिला, बालबालिका, अपाङ्ग भएका व्यक्ति लगायत सबैको तथ्यांक तयार पारेर आगामी आर्थिक वर्षदेखि नै बीमा गर्ने कार्यको सूरुवात गर्ने वडा अध्यक्ष कटुवालले बताए । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १४ वडा रहेको कटारी नगरपालिकामा १२ नम्बरमा मात्रै माओवादीका उम्मेदवार विजयी भएका हुन् ।

‘मेरो वडामा जनताको जनजीविकासँग जोडिएका समस्याहरुको समाधान गर्न, मैले मोल्नु पर्ने जस्तोसुकै जोखिम पनि मोल्न तयार छु,’ उनले भने ।

साविकको हर्देनी गाउँ बिकास समिति खड्कुले अर्थात हालको कटारी नगरपालिका १२ मा वि.स २०३२ सालमा बुबा कर्णबहादुर कटुवाल र आमा पदमकुमारी कटुवालको कोखबाट जन्मेका थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही वडाबाट झिनो मतका साथ पराजित भएका उनी यो पटक भने निर्वाचित हुन सफल भए । कटुवालको जीवन निर्वाह पेशा कृषि र सवारी चालक हो । उनी भन्छन्, ‘कृषि मेरो पुख्र्यौली पेशा हो । सवारी चालक घर खर्च चलाउने पेशा हो ।’

२०४५ सालदेखि पञ्चायती सरकारविरुद्धको अन्दोलनमा सहभागी हुँदै राजनीतिक यात्रामा आउनु भएको थियो । उनी भन्छन्, ‘२०४५ सालपछि भएका विभिन्न परिवर्तनकारी आन्दोलनमा सहभागी हुँदै आएको हुँ ।’ २०५२ सालबाट तत्कालिन नेकपा (माओवादी) हाल माओवादी केन्द्रले सुरु गरेको जनयुद्धमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा सहभागी बनेका कटुवाल जनयुद्ध हुँदै पार्टी शान्ति प्रक्रियामा आएपछि कटुवाल माओवादी केन्द्र उदयपुरले दिएको विभिन्न जिम्मेवार सम्हाल्दै आएका थिए ।