Dhulikhel Eco Banner new

वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्न प्रभु साहको माग

2.74K
shares

काठमाडौं, ५ मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कमिशन खानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमावती क्षेत्रका जनताको निजि सम्पती लुटिरहेको आरोप लगाएका छन् । शान्ति सुरक्षा कायम गर्न असफल भएको सरकारले सीमावर्ती नागरिकलाई भन्सार छलीको नाममा दुख दिनुका साथै निजि सम्पती लुटने गरेको उनले बताए ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले ओली सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुख पाईरहेको बताए ।

‘नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरेलु प्रयोगका लागि केही समान ल्याउँदा उनीहरुको निजि सम्पती नै लुटने, जफ्त गर्ने, कब्जा गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सीमावर्ती क्षेत्रमा भन्सार नखोल्ने, भएको भन्सार कार्यालयको स्तरोन्नती नगर्ने वर्तमान सरकारले केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख मात्रै दिईरहेको छ । सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार कार्यालय दिनुपर्‍यो । उनीहरु कुनै समान ल्याइरहेका छन् भने उनीहरुबाट भन्सार लिनु, नकि उनीहरुकोे निजि सम्पती नै जफ्त गर्ने अधिकार यो सरकारलाई छैन् ।’

कमिशनको लोभमा निजि सम्पती लुटने गरिएको बताउदै उनले त्यसको हिसा तलदेखी माथिसम्मकाले बाँडेर खाने गरेको आरोप लगाए । सीमावर्ती क्षेत्रका नागरिकको निजि सम्पती लुटेर भन्सारको कानूनमा ४५ प्रतिशत कमिशन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउदै उनले यसका विरुद्धमा कडा आन्दोलनको आवश्यकता भएको बताए ।

‘भन्सारको कानूनमा यिनीहरुले लुटिएको सम्पतीमा ४५ प्रतिशत कमिशन खाने भनेर राखेका छन् । तल पक्रिने प्रहरीदेखी, सुराकीको नाममा समेत कमिशन बाडिन्छ । तल मात्र होईन यसको कमिशन मन्त्री, प्रधानमन्त्री सम्म पुग्ने गरेको छ । त्यसैले उनीहरुले यो व्यवस्था हटाउन चाहदैन्,’ साहले भने, ‘यिनीहरुको ध्यान केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख दिने, निजि सम्पती कब्जा गर्ने र मिलेर खाने मात्रै रहेको छ । के काठमाडौंमा बस्नेले वा उधोगीले कर नतिर्दा उनीहरुको सम्पती कब्जा हन्छ ? त्यहाँ नहुने तर सीमावर्ती क्षेत्रका नागरिकलाई दुख दिन यो सरकारले सम्पती कब्जा समेत गर्ने गरेको छ ।’

प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको बताए । सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरेको बताउँदै उनले बिभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए ।

‘अहिले सरकारी आतंक मचिएको छ । सरकारले सत्तारुढ दलका अपराधि, भ्रष्टाचारीलाई जोगाउने काम मात्रै गरेको छ । सत्तारुढ दलका नेताहरु नागै हिडदा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुख दिने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँदेखी शहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ । प्रहरी प्रशासन देखी सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दुख पाईरहेका छन् ।’

यस्तै बीरगंजलाई आर्थिक राजधानी घोषणा गरी त्यसै अनुसार बिकास गर्नुपर्ने माग समेत उनले गरेका छन् । मुलुकमै सबैभन्दा बढी आर्थिक कारोबार हुने, बढी उधोगधन्दा भएको वीरगंज क्षेत्रलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए । मुलुकको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन यही क्षेत्रबाट हुदै आईरहेको भए पनि यस क्षेत्रको बिकासमा राज्यले चासो नदिएको उनले बताए ।

मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै आएको छ ।

आजपा पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अन्तरगतको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षत्रय समिना हुसेन, अशोक लामा महासचिव त्रिभुवन साह, उपमहासचिवद्धय सियाराम कुशवाहा, राजन यादव, आजपा प्रदेश अध्यक्ष उमेश कुशवाहा लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । निचुटामा आमसभा हुनुभन्दा अघि बीरगंजमा भ्रष्टाचार बिरुद्ध यात्रा टोलीले रोडसो गरेको थियो ।