Dhulikhel Eco Banner new

मोलुङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो

7.38K
shares

काठमाडौं, ४ फागुन । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिले स्थानीय बासी र वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेपश्चात दोस्रो पटक सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको हो । सर्वसाधारणले अव २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन १८ गतेसम्म थप हुने देखिन्छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।