ब्रोकर शाखा खोल्न डेढ करोड चुक्ता पुँजी हुनुपर्ने
वि.सं.२०७९ फागुन ५ शुक्रवार १८:२५
shares

काठमाडौं, ५ फागनु । धितोपत्र दलाल व्यवसाय (ब्रोकर) को शाखा खोल्नका लागि डेढ करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र ददाल व्यवसायीले शाखा दोल्ने निर्देशिका २०७९ जारी गरेर चुक्ता पुँजी १ करोड ५० लाख रुपैयाँ हुनु पर्ने व्यवस्था गरेको हो ।
धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ । धितोपत्र दलाल व्यवसायीको मूख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्न स्वीकृति दिइने छैन । तर, नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्ने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।
यस्तै, निर्देशिकाअनुसार ब्रोकरले काठमाडौं उपत्यका बाहिर कम्तिमा ३ वटा शाखा खोलेपछि मात्रै काठमाडौं उपत्यकाभित्र शाखा खोल्न पाउने पनि निर्देशिकामा उल्लेख गरिएको छ । शाखा कार्यालय खोल्न चाहाने व्यवसायीको नेटवेर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्नेछ । साथै, नेटवर्थ सम्बन्धी विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यता प्राप्त चाटर्ड एकाउटेन्टबाट प्रमाणित भएको हुनु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
















