दोर्दी खोला जलविद्युतको आईपीओ दिने आज अन्तिम दिन
वि.सं.२०७९ जेठ ५ बिहीवार ०६:४६
shares

काठमाडौं, ५ जेठ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । वैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमाव आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन हो ।
कम्पनीले १३ वैशाखदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।















