पिपुल्स पावरले पायो आईपीओ जारी गर्ने अनुमति, ३१ करोडको आईपीओ निष्काशन गर्ने
वि.सं.२०७९ जेठ ३० सोमवार १४:०२
shares

काठमाडौं, ३० जेठ । पिपुल्स पावर लिमिटेडले ३१ करोड रुपैयाँ बराबरको (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थानीय र सर्वसाधारणलाई समेत गरेर ३१ करोड बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न पाउने छ । कम्पनीले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ४९ प्रतिशत प्राथमिक शेयर निष्काशन गर्नेछ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोला दोस्रोमा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ ।
पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता समेत भईसकेको छ । प्राधिकरणले कम्पनीसँग बर्षायामको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा विद्युत खरिद गर्ने सम्झौता छ ।















